दैलेखमा ५० वर्षपछि सुन्दरी तोप भित्राईयो, भव्य स्वागत
दैलेख । करिब ५० वर्षपछि सुन्दरी तोप दैलेख ल्याइएको छ । २०२८ सालमा सुर्खेत लगिएको तोपलाई पुनः स्थापनाका लागि दैलेख पुर्याइएको हो ।
२०२८ सालअघि दैलेख सदरमुकामस्थित ऐतिहासिक कोतगढीमा राखिएको थियो । युद्धकालीन अवस्थामा प्रयोगका लागि तोप राखिएको थियो । तत्कालीन अवधिमा दैलेखमा भोकमरी भएपछि नेपाली सेनाको ज्वाला दल गुल्म सुर्खेत सारियो । सैनिक गणमा रहेका सुन्दरी, अर्गा लगायतका तोपहरु पनि बोकेरै सुर्खेत पुर्याइएको थियो । सेना र दैलेखको इतिहाससँग जोडिएको तोप ५० वर्षपछि दैलेखमा पुनःस्थापना भएको हो ।
‘सुन्दरी तोप’ सुर्खेतस्थित राजदलमा राखिएको थियो भने ‘अर्गा सुन्दरी तोप’ अझै बेवारिसे छ ।
सुन्दरी तोप वि।सं। १८४६ मा बहादुर शाहको पालामा बनेको जनश्रुति छ । सुन्दरी तोप पितलबाट बनेको हो ।
सुन्दरी तोपलाई स्थानीय सरकारको पहलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतले आज दैलेख ल्याइएको हो ।
तोप ल्याएको नेपाली सेनाको टोलीलाई नारायण नगरपालिका र स्थानीय नागरिकले भव्य स्वागत गरेका छन् ।
बुधवार दैलेख ल्याइएको सुन्दरी तोपमा ८१ थान गोला भरिएको जनाइएको छ । तोप पुरानो स्थान गढीमा राखिने भएपनि गढीको पुनःनिर्माणको भैरहेकाले तत्कालका लागि इन्द्र दल गुल्ममा राखिने भएको छ । गढी पुनः निर्माण सम्पन्न हुन अझै एक महिना लाग्ने जनाइएको छ ।
कोतगढी नेपाली सेनाको स्वामित्व रहेको छ । तर, तोपको संरक्षण गर्ने जिम्मेवारी नारायण नगरपालिकाले लिएपछि कोतगढीमै सुन्दरी तोप राख्न लागिएको हो ।
जंगी अड्डाले सुर्खेत राजदलमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न स्वीकृत दिनुका साथै नारायण नगरपालिकाले सुरक्षा र रेखदेखको जिम्मा लिने भएपछि तोप पुनःस्थापनाको प्रक्रिया अघि बढाएको दैलेख काडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले बताए ।
नारायण नगरपालिका वडा १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले ऐतिहासिक तोप पुनःस्थापनाले दैलेखको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए । ‘तोप पुनःस्थापना गरिनु ठूलो कुरा हो । यो हाम्रो अमूल्य सम्पत्ति हो,’ उनले भने, ‘यसको सुरक्षा रेखदेखको जिम्मा नगरपालिकाले गर्छ ।’
संघीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदाहरू ल्याउनुपर्ने माग गर्दै आएको वडा अध्यक्ष श्रेष्ठले बताए ।
साथै, एक करोड पाँच लाख खर्च गरेर कोतगढीको संरचना पुनःनिर्माण गर्न लागिएको छ ।