बल्ल पुरा भयो महाबुबासीको डाक्टर देख्ने सपना
दैलेख । डाक्टर देख्ने सपना अधुरै रहेको महाबुबासीको सपना बल्ल पुरा भएको छ । शुक्रवार महाबु अस्पतालमा एमविविएस डाक्टर गएपछि महाबुबासीको डाक्टर देख्ने सपना पुरा भएको हो । दरखास्त आब्हान भएको लामो समयसम्म निवेदन नपरेकाले सञ्चालनको अन्यौलमा रहेको अस्पतालमा शुक्रबारदेखि एमबीबीएस डाक्टर पाएपछि महाबुबासी खुशी भएका छन् ।
डाक्टरको दरखास्त नपरेपछि अस्पताल सञ्चालनमा आउन नसकेको समाचार सञ्चारमाध्याममा प्रकाशन भएपछि १५ जना एमबीबीएस डाक्टरको निवेदन परेको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रमेश दशौदीले जानकारी दिए । उनका अनुसार उक्त, निवेदन बमोजिम आठजना डाक्टरहरुलाई छोटो सूचीमा राखी भर्चुअल माध्यामबाट अन्तरवार्ता गरी डाक्टर छनोट गरिएको थियो ।
छोटो सूचीमा रहेका डाक्टरहरुमध्ये उत्कृष्ट छनोट गर्दै गाउँपालिकाले डाक्टर शिशिर गिरीलाई छनोट गरेको हो । डाक्टर शिशिर गिरीले शुक्रबारदेखि महाबु अस्पतालबाट सेवा सुचारु गरेका छन् । डाक्टर नपाएर अस्पताल सञ्चालन हुन नसकेको अवस्थामा डाक्टर ल्याउनका लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु’ गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही भने,‘अब महाबुका नागरिकले घरदैलोबाटै एमबीबीएस डाक्टरको सेवा प्रदान गर्न सफल भएका छन् ।’ उनले नागरिकको स्वास्थ्य सुरक्षा गर्ने जिम्मेवारी सरकारको भएको भन्दै कोही पनि नागरिक स्वास्थ्य सेवा बञ्चित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
