तरकारी र फलफुलमा अधिकतम विषादीको सिमा निर्धारण
काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ गते राजपत्रमा प्रकाशित गरेको हो ।
स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण छ । यसअघि अन्य खाद्य वस्तुमा गुणस्तर मापदण्ड निर्धारण जीवनाशक विषादीको सिमा निर्धारण गरेको भएता पनि हरियो तरकारी तथा फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको थिएन् ।
यसअघि सरकारसँग तरकारी र फलफुलमा जीवनाशक विषादी अधिकतम कति हुनुपर्छ भन्ने प्रष्ट मापदण्ड नहुँदा स्वदेशी उत्पादन तथा विदेशबाट आयातित वस्तुको विषादी परिक्षण गरी कारबाही गर्न समस्या हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बताउने गरेको थियो । तर अब तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण भइसकेपछि विभागालाई कारबाही गर्न बाटो खुलेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।
प्रवक्ता महर्जनले भने, ‘फलफुल र तरकारीको हकमा नेपालमा जीवनाशक विषादी अवशेषको अधिकतम मापदण्ड नहुँदा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विभागले कारबाही गर्ने गरेको थियो ।’ उनले भने ‘अब नेपालमा आप्mनै कानुन बनेपछि सोही मापदण्ड अनुसारको मात्र तरकारी र फलफुलहरु आयात तथा विक्री वितरण गर्न पाइने छ । नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नभए अब विभागले खाद्य ऐन २०२३ बमोजिम कारबाही गर्ने छ ।’ पहिलो पटक फलफुल र तरकारी गरी दश वटा वस्तुको अधिकतम विषादीको सिमा निर्धारण गरेको उनको भनाई छ । विस्तारै अन्य वस्तुमा पनि विषादीको अधिकतम सिमा निर्धारण गर्दै जाने उनले बताए । प्रवक्ता महर्जनले स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण भएको बताए । उनले विगतमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कारवाही हुने गरेको र माघ २६ गते राजपत्रमा सूचना प्रकाशितपछि विभागले सोही मापदण्ड अनुसार कानुनी कारबाही हुने बताए ।
राजपत्रमा प्रकाशित मापदण्ड अनुसार बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ भने करेलामा १, भन्टामा २१ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सिमा तोकिएको छ । यसैगरी काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ ,स्याउमा २७, केरामा ४२,वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेको छ । यसैगरी चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको छ । सरकारले निर्धारण गरेको सिमा भन्दा बढी विषादीको मात्रा प्रयोग गरेको देखिए खाद्य ऐन २०२३ अनुसार पाँच वर्ष कदै वा ५० हजार रुपैयाँ जरिमाना वा दुवै सजाय हुनेछ । साभार ः राजधानी
