प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु भेटियो
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लु भेटिएको छ । वीरेन्द्रनगर–१२ नौलो टोलस्थित स्थानीयले पालेका कुखुरामा बर्डफ्लु देखिएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी विकास शाखाले जनाएको छ । ‘बर्डफ्लु भित्रिएको आशंकामा नै पशु सेवा विभागले नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ,’ पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले बताए । ‘शुक्रबार राति १२ बजेतिर गएर दुई जनाको सानो –ठुलो गरेर ३ सय ८१ कुखुराहरु र २ सय ५ वटा परेवाहरु नष्ट गरिसक्यौँ ।’ पशुपंक्षी विकास निर्देशनालयको अगुवाइमा नष्ट गर्ने काम भएको हो ।
रोग फैलिने सम्भावना देखिएपछि शुक्रबार राति नै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने काम गरिएको पशु विकास अधिकृतले जानकारी दिए । प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रदेशका १० जिल्लामा समेत त्रास फैलिएको छ । प्रदेशको राजधानी सुर्खेतबाट विक्रीका लागि गाउँ गाउँमा जाने बोइलर कुखुराले गर्दा झनै त्रास फैलिएको जिल्लाबासी बताउँछन् । समयमै स्थानीय सरकारले बर्डफ्लु नियन्त्रण गर्न नलागे अवस्था भयावह हुने आँकलन गरिएको छ ।
बर्डफ्लु नियन्त्रण छलफल
निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले नियन्त्रण र सर्तकताका बारेमा पशु चिकित्सकको टोली सहितको बैठक बसि छलफल भईरहेको बताए । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको अध्यक्षतामा पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे, डा. जितेन्द्र श्रेष्ठ, पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका, १२ नम्बर वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी, सम्बन्धित निकाय रोग नियन्त्रण शाखाका व्यक्तीहरु सहितको सहभागितामा छलफल भइरहेको हो ।
पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले भने,‘स्याम्पल केन्द्रीय ल्याबबाट पोजेटिभ नभएको रिजल्ट नआउँदासम्म मान्य हुँदैन । त्यसलाई फैलिन नदिनका लागि हामी बैठकमा जुटिरहेका छौँ।’ भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमान सँगै लुकिछिपी ल्याएका दाना वा कुखुरा, हाँस, र टर्कीबाट बर्ड फ्लु रोग सार्न सक्ने भएकाले चेक जाँचमा कडाइ गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिइसकिएको बताइएको छ । साभार ःरातोपाटी
