डेढ बर्षदेखी त्रिपालमुनि बास
दैलेख । ठाटिकाँध गाउँपालिका–४ गैरागाउँका बाढी पहिरो पिडित डेढबर्ष देखि त्रिपालमुनि बस्दै आएका छन् । प्रदेश सरकार र स्थानीय सरकारले बाढीपहिरो पिडितलाई राहत दिने घोषणा गरेपनि बाढीपहिरो पिडितले अहिले सम्म पाएका छैनन् । सामाजिक सेवा केन्द्र सोसेकले १५ हजार नगद सहित लत्ताकपडा बाहेक अन्य कुनै ठाउँबाट गैरागाउ बासीले राहत पाएका छैनन् ।
राहत नपाएपछि केही बाढीपहिरो पिडित जहानपरिवार लिएर जीवनयापनका लागि भारतको कालापहाड लागेका छन् । केही भने, गाउँबाट चर्को व्याजमा ऋण लिएर घर बनाउन थालेका छन् । प्रदेश सरकारले बाढीपहिरो पिडितका लागि प्रदेश सरकारले एकलाख रकम दिने भनेर घोषणा गरेपनि हालसम्म पाएका छैनन् ।
गैरागाउँमा बाढीपहिरोले ७ घर बगाएपछि कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले त्यहाँ पुगेर राहत पाउने आश्वासन दिएका थिए । डेढ बर्ष सम्म प्रदेश सरकारले पिडितका लागि राहत उपलब्ध नगराएपछि नागरिक प्रति सरकार उत्तरदायि नभएको पिडितको गुनासो छ । हाम्रो सरकार भए त राहत पाईहाल्दा हौं त । हामी गरिवीको सरकार पनि छर : दुखेसो पाेखे ।
हाम्रै भोट लिएर यही गाउँपालिका सभामुख समेतले केही गर्न सकेनन् । आयाँ गयाँ । आश्वासन मात्र दियाँ सरकारका ठुला मान्छे पनि झुठो बोल्दा रहेछ, मनबहादुर विकले बताए । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही ठाटीकाँध गाउँपालिकाका रैथाने बासिन्दा हुन् ।
२०७७ भाद्र २ मा आएको बाढी पहिरोले गैरागाउका -७, घर बगाएको थियो । गाउँपालिका भरि ७२ घरधुरी बर्षातका कारण भत्किएका थिए । पहिरोमा परि २ जना बालकको मृत्यु भएको थियो । ६ जना घाईत भएका थिए । घाईते भएका उपचारपछि घर फर्किसकेका छन् ।
आजभोली आकाशमा बादल लाग्ने वित्तिकै गैरागाउँबासी झस्किन्छन् । बादल लागेको दिन राम्रो सँग सुत्दैनन् । कति बेला पहिरो आएर पुरिदिने हाे भन्ने चिन्ता उस्तै छ । स्थानीय सरकारले विजारे चौर बस्ती बसाल्ने भने पनि डेढ बर्षसम्म जग्गा हेर्ने बाहेक अर्को केही काम गरेको छैन । आर्थिक बर्ष ०७८।०७९ बजेट विनियोजनमा समेत बाढीपहिरो पिडित प्राथमिकता परेनन् । स्थानीय सरकारले पहिरो पिडितका लागि कार्यक्रम ल्याउनुकाे साटो यो पाली कार्यकर्ता पाल्ने बजेट ल्याएको नेपाली काँग्रेसका नेता रक्षबहादुर शाहीले बताए ।

तस्वीर : भक्तबहादुर शाही
हाम्रै गाउँपालिकाका प्रदेश सभामुख छन् । यहाँ आएर बसेर जानुभयो । राहत पठाईदिने आश्वासन दिनुभयो । तर अहिले सम्म राहत पनि आएन । ठुलो मान्छे झुठो बोल्दा रहेछन् सुशिलाले दुखेसो पोखिन ।
आकाशमा बादल लाग्ने वित्तिकै गैरागाउँ बासि चिन्तित हुन्छन् । अझै पनि भाद्र २ को पहिरोले त्रास दिईरहेको छ । पहिरोमा परि दुईजना बालकको ज्यान गएको थियो भने ६ जना घाईते भएका थिए भने गाउँपालिका भरि बर्षातका कारण ७२ घरधुरी भत्किएका थिए ।
