कर्णाली प्रदेशलाई समृद्ध बनाउने प्रमुख दायित्व युवाको काँधमा छ : मन्त्री बुढा क्षेत्री
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ बहादुर बुढा क्षेत्रीले कर्णाली प्रदेशलाई समृद्ध बनाउने प्रमुख दायित्व युवाको काँधमा रहेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा एसोशियशन अफ इन्टरनेशनल एनजिओज् (एआइएन) युथ वोर्कीन ग्रुप अन्तर्गत प्लान इन्टरनेशनल, सेभ द चिल्डे«न द लुथरन वोल्ड फाउन्डेशन, स्ट्रमा फाउन्डेशनसँगको सहकार्यमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कर्णाली युवा संवाद कार्यक्रममा उनले यसका लागि युवा शक्तिलाई मुल धारमा ल्याउन आवश्यक रहेको बताए ।
उनले भने, ‘यसका लागि युवा शक्तिलाई मुलधारमा ल्याउन युवाको नेतृत्व विकास, सिप तथा आत्मनिर्भर बनाउन आवश्यक छ ।’ युवा संवादका माध्यमबाट कर्णाली जिल्लाका युवाको आवाजलाई व्यक्त गर्ने माध्यम प्रदान गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै विभिन्न संघसंस्था, प्रदेश सरकार तथा स्थानिय सरकारको भूमिका यसका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा नीति निर्माण तथा कार्यान्वयनका विषयमा प्रदेश योजना आयोगका पूर्व सदस्य योगेन्द्र शाहीले प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, देवी ओली र हिमा गाउँ पालिकाका, जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले नीति निमार्ण, योजना र कार्यान्वयनमा युवाहरुको अर्थपूर्ण सहभागिता, रोजगारी, गुणस्तरिय शिक्षा, आयआर्जनलगायत सुनिश्चित गर्नु पर्नेमा जोड दिए । हिमा गाउँ पालिकाका अध्यक्ष शाहीले आफ्नो पालिकालाई युवा मैत्री पालिका घोषण गर्नुका साथै यसका लागि युवा मैत्री संरचना विकासमा जोड दिएको व्यक्त गरे ।
कार्यक्रममा जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेतलगायत कर्णालीका विभिन्न जिल्लाबाट युवाहरुको सहभागिता रहेको थियो । सहभागि युवाले आफ्ना जिल्लामा भोगका समस्या, नीतिगत भिन्नता, र आवश्यकताहरु व्यक्त गर्नुका साथै सरोकारवालाहरुले सम्बोधन गर्नुपर्ने बताएका थिए । यसका साथै, युवामैत्री संरचनाको विकास, अपाङ्गता भएका युवाको आवाजको सुनिश्चित गर्नका लागि समेत सहभागी युवाहरुले ध्यानाकर्षण गराएका थिए ।
