दुर्घटना बीमा रकम हस्तान्तरण
सुर्खेत । स्थानीय तहको निर्वाचन २०७९ मा खटिएको समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी वीरेन्द्रनगर ११ का हृदयराम ढकालको परिवारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरिएको छ । वैशाख ३० गते सम्पन्न वीरेन्द्रनगर नगरपालिका वडा नं ३ मा रहेको हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनिसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरुको लागि २० लाख रुपैयाँको दुर्घटना बीमा सम्झौता गरेको थियो । सोही अनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनि शाखा सुर्खेतले मंगलबार एक कार्यक्रमकाबिच स्व. ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गा प्रसाद चालिसे, राष्ट्रिय बीमा कम्पनि शाखा सुर्खेतका प्रमुख शिबराज बिसीले उपस्थितिमा स्व.ढकालको श्रीमती सुस्मा ढकाललाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
