फरक क्षमताकी बालिका बलात्कार गर्नेलाई १९ बर्ष कैद
दैलेख । फरक क्षमता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा एक जना युवालाई दैलेख जिल्ला अदालतले १९ बर्ष कैद फैसला सुनाएको छ । दुल्लू नगरपालिका–४ बान्देउ टोलका २२ वर्षीय दीपक बिकलाई अदालतले १९ वर्ष कैद, एक लाख रुपैंयाँ पिडित क्षतिपूर्ति तिनुपर्ने र २२ सय रुपैंयाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने फैसला गरेको हो ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट शुक्रवार फैसला भएको श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्कीले जानकारी दिए । चकलेट दिएर घर नजिकै खोल्सामा लिएर ०७६ मंसिर ३० मा बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ पुस ३ मा जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका थिए ।
उजुरीकै दिन दुल्लू अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो । ०७६ पुस ३ मा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले पुस २७ मा दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्वन्धी अभियोग पेश गरेको थियो ।
अभियोग सम्वन्धमा थुनछेक बहसपछि आरोपित दिपक बिकलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा राखिएको थियो । बलात्कार भए नभएको पुष्टि गर्न विधिविज्ञान प्रयोगशाखामा पठाइएको पीडितको ‘भेजिनल स्वाव’को रिपोर्ट ढिला आएको कारण सवा एक वर्षमा फैसला आएको श्रेस्तेदार कार्कीले बताए ।
बलात्कार मुद्दामा १९ वर्ष कैद भएको सम्वत यो पहिलो फैसला हो । मुलुकी अपराध सहिंताको दफा २१९ को उपदफा ३ (ख) मा १०–१४ वर्ष उमेरकी बालिकाकालाई बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्म कैद गर्ने सकिने र उपदफा ७ मा अशक्त वा अपाङ्ग महिला तथा बालिकालाई बलात्कार गरेको खण्डमा थप ५ वर्ष कैद हुने उल्लेख गरिएको छ ।
