Skip to main content
२०७८ जेठ ३१, सोमबार

काँक्रेविहारभित्रको रिङरोडलाई बाटो देखाएर करोडौं लगानी

सुर्खेत । काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोडलाई बाटो देखाएर करोडौं रकम लगानी गरेको पाइएको छ । उक्त क्षेत्रको बाटो देखाएर व्यवसायी प्रयोजनका लागि नीजि क्षेत्र तथा सामाजिक संस्थाहरुले करोडौं रकम लगानी गरेका हुन् । तर उक्त क्षेत्रमा आवत–जावत गर्ने बाटो बन्द भएपछि लगानी निकट भविष्यमा संकटमा पर्नेे अवस्था बनेको छ ।

काँक्रेविहार संरक्षण क्षेत्रमा हाल संचालन भैरहेको बाटोभन्दा बाहिर नीजि व्यक्तिहरुको नाममा दर्ता भएका जग्गा र काँक्रेविहार संरक्षण क्षेत्रको सीमाबाट नयाँ ‘कम्पाउण्ड वाल’ (पर्खाल) लगाइने भएको छ । जसको कारण काँक्रेविहार सीमा छेउमा रहेका संरचनाका लागि प्रयोग भएको बाटो बन्द हुने भएको हो ।

उक्त ‘कम्पाउण्ड वाल’का लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) भै काम संचालनको अन्तिम तयारीमा रहेको जनाइएको छ । यस क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल लगाउन २१ करोड लागत अनुमानमा डिपिआर निर्माण गरिएको जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले बताए ।

उनका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्ने छ भने पूर्वमा आपतकालीन द्वार (इमरजेन्सी एक्जिट) बन्ने भएको छ ।

गत आर्थिक वर्षको फागुन महिनामा उक्त काँक्रेविहार क्षेत्रको कम्पाउण्ड वाल (वरिपरिको पर्खाल)का लागि टेण्डर भैसकेपनि स्वीकृत हुन बाँकी रहेको प्रमखु दाहालले जानकारी दिए । चालुआर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले रकम स्रोत सुनिश्चितता गरिदिएपछि चैत्रमसान्तभित्रमै ठेक्का स्वीकृत भै काम सुचारु गरिने प्रमुख दाहालको भनाई छ ।

उद्योग वाणिज्य संघको चार करोड लगानी

काँक्रेविहार संरक्षित क्षेत्रसीमामा सुर्खेत उद्योग वाणिज्य संघले चार करोड लागनी गरको छ । जडिबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र निर्माणका लागि चार करोड लगानी गरेको हो ।

उक्त व्यवसाय केन्द्रका लागि मूल बाटो काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोड प्रयोग गरिएको छ भने हालसम्म अन्य कुनै बाटो प्रयोग हुने सम्भावना देखिएको छैन ।

No description available.

संघले नेपाल सरकार वाणिज्य मन्त्राल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य संघको सयुक्त लगानीमा उक्त व्यवसाय केन्द्र स्थापना गरेको हो ।

व्यवसाय केन्द्र स्थापनाका लागि तयार गरिएको प्रस्तावनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्र हाल प्रयोग भैरहेको बाटो देखाएर बजेट ल्याएको सुर्खेत उद्योग वाणिज्य संघका लेखापाल छत्र केसीले जानकारी दिए ।

‘मन्त्रालयले रकम विनियोजन गर्दा उक्त व्यवसाय केन्द्र निर्माणका लागि बाटो छ वा छैन सोधेको थियो’ केसीले भने, ‘प्रस्तावनामा काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोड देखाइएको हो ।’

काँक्रेविहार संरक्षित क्षेत्रको कम्पाउण्ड वाल लगाएको अवस्थामा हाल निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको उक्त व्यवसाय केन्द्रका लागि बाटो बन्द हुने निश्चित भएको छ ।

नीजि व्यवासायीक फर्मको लगानी

काँक्रेविहार संरक्षित क्षेत्रभित्रको रिङरोड प्रयोग गरेर नीजि व्यवसायीक फर्मले समेत लगानी बढाएका छन् । बंगुर पालन, माछा पालन, कुखुरा पालन लगायतका व्यवसायिक फर्मले लगानी बढाएका हुन् ।

यद्यपी काँक्रेविहार संरक्षित क्षेत्रको कम्पाउण्ड वाल लगाएको अवस्थामा उक्त व्यवसायिक फर्ममा गरिएको लगानी संकटमा पर्ने देखिन्छ ।

जग्गा कारोबार

काँक्रेविहार संरक्षित क्षेत्र भित्रकै रिङरोड देखाएर जग्गा कारोबारीले जग्गा किनबेच गर्ने गरेको पाइएको छ । रिङरोडसँगै जोडेर नीजि दर्तावाला जग्गामा बाटो लिई पलटिङ गरेको पाइएको हो । यद्यपी काँक्रेविहार संरक्षित क्षेत्रको कम्पाउण्ड वाल लगाएको अवस्थामा उक्त जग्गामा जाने बाटोहरु बन्द हुनेछन् भने अतिरिक्त बाटो बनाउनुपर्ने देखिन्छ ।

No description available.

डिपिआर विपरित बाटो दिदैनौं ः वडाअध्यक्ष मानन्धर

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष सुरेश मानन्धरले काँक्रेविहार संरक्षित क्षेत्रमा कम्पाउण्ड वालका लागि तयार भएको डिपिआर विपरित कोहीकसैलाई बाटो प्रयोग गर्न नदिने बताएका छन् ।

‘डिपिआरमा काँक्रेविहार क्षेत्रमा दुईवटा मात्रै गेट (द्वार) निर्माण हुने उल्लेख गरिएको छ । जसमध्ये काँक्रेविहारको प्रवेशद्वार लाटीकोइली तर्फ मूल गेट र पूर्वमा नयाँगाउँतर्फ आपतकालीन द्वार (इमरजेन्सी एक्जिट) निर्माण हुने उल्लेख छ ।’ अध्यक्ष मानन्धरले भने, ‘डिपिआर अनुसार काँक्रेविहार सीमाक्षेत्रमा कम्पाउण्ड वाल लगाइने छ ।’

साथै अध्यक्ष मानन्धरले नियम विपरित कार्य नहुनेभएकोले छेउछाउका नीजि व्यवसाय तथा सामाजिक संस्थाले अतिरिक्त सडक निर्माण गर्नुपर्ने बताए ।

No Comments yet!

Your Email address will not be published.


%d bloggers like this: