यौनधन्दामा एचआईभी संक्रमित महिला
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक रूपमा सञ्चालित अवैध यौनजन्य गतिविधि हुने गरेको पाइएको छ ।
प्रहरीले यौनधन्दामा संलग्न आरोपमा पक्राउ परेकाहरूमध्ये एक महिला र एक होटल सञ्चालक एचआईभी संक्रमित रहेको खुलेको हो, जसले यो अवैध कारोबारले निम्त्याएको सामाजिक विकृतिसँगै भयानक जनस्वास्थ्य जोखिमलाई समेत उजागर गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पछिल्लो डेढ महिनामा अवैध यौनजन्य गतिविधिमा संलग्न २९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार पक्राउ पर्नेमा १२ पुरुष, १२ महिला र व्यावसायिक रूपमै यौनधन्दा चलाइरहेका ३ जना होटल सञ्चालक छन् ।
‘समाजका विभिन्न तहबाट आएका गुनासा र सूचनाको आधारमा हामीले यी विकृतिविरुद्ध शून्य सहनशीलता अपनाएका छौँ,’ एसपी शाहीले भने, ‘विशेषगरी होटलहरूमा व्यावसायिक रूपमै यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा शंकास्पद स्थानहरूमा छापा मारेर कारबाहीलाई तीव्र बनाएका छौँ ।
अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक महिला र एक होटल सञ्चालक एचआईभीबाट ग्रसित रहेको पुष्टि भएपछि घटनाले थप गम्भीर मोड लिएको छ ।
संक्रमित व्यक्तिहरू नै यौन व्यवसायमा संलग्न हुनुले यो धन्दामा संलग्न अन्य व्यक्ति र सेवाग्राहीहरूमा समेत संक्रमण फैलिन सक्ने आशंका बढाएको छ ।
प्रहरीले पक्राउ परेका सबैलाई कानुनी दायरामा ल्याएर आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको जनाएको छ। यो घटनाले वीरेन्द्रनगरजस्तो प्रदेश राजधानीमा समेत लुकिछिपी चलिरहेको अवैध यौन व्यवसाय र त्यसले निम्त्याइरहेको गम्भीर स्वास्थ्य संकटको यथार्थलाई सतहमा ल्याइदिएको छ ।
प्रहरीका अनुसार वीरेन्द्रनगरको बसपार्क, बुद्धपथ लाइन लगायतका क्षेत्रमा धेरै यौनजन्य गतिविधिहरु हुने गरेका छन् । प्रहरी प्रमुख शाहीका अनुुसार वीरेन्द्रनगरमा अनुमानित ६० भन्दा धेरै यौजनकर्मीहरु रहेका छन् ।
