नियमित महाधिवेशन गर्नुपर्छ भन्दै बुझाइयो ध्यानाकर्षण पत्र

काठमाडौं। नेपाली कांग्रेसमा पार्टीको नियमित महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। नेताहरुले पार्टी कार्यालय पुगेर सोमबार ध्यानाकर्षण पत्र बुझाएको सहभागी रञ्जित कर्णले जानकारी दिए।
अर्का सहभागी विनोद शाहीका अनुसार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो। जहाँ कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापालगायतको सहभागिता थियो।
उनीहरूले पार्टीको १५औं महाधिवेशनका सम्बन्धमा विधिवत् र नियमित महाधिवेशन मात्र नेपाली कांग्रेसको सबै तह (वडादेखि केन्द्रसम्म) युवा पुस्ताको सम्मानजनक सहभागिताका माध्यम भएको पनि उल्लेख गरेका छन्।
‘तसर्थ १५औं महाधिवेशनको सुनिश्चितताका लागि स्पष्ट समय तालिकासहित मंसिर मसान्तभित्र महाधिवेशन हुन सक्ने आधार र कार्ययोजना ल्याउन कांग्रेस केन्द्रीय समितिलाई हार्दिक आग्रह गर्दछौं,’ नेता शाहिले भने।