फोर्स गाडीको ठक्करबाट मृत्यु, गाडीधनी पक्राउ
सुर्खेत । वीरेन्द्रनगरस्थित टेम्पो पार्क नजिकै पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको फोर्स गाडी र गाडीधनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लु २ ख ५७८३ नम्बरको फोर्स गाडी सुर्खेतको बोटेचौर क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गाडीधनी सिम्ता गाउँपालिका–६ निवासी ३४ वर्षीय लोकबहादुर बी.सी. प्रहरी नियन्त्रणमा छन्।
तर, गाडी चालक दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–२ बस्दै आएका ३२ वर्षीय डिल्लीराज कंडेल भने फरार रहेका छन्। उनको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ।
उक्त गाडीको ठक्करबाट गम्भीर घाइते भएका डुंगेश्वर गाउँपालिका–५ निवासी ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
