ठाटिकाँध गाउँपालिकाको १८औँ अधिवेशन सम्पन्न
दैलेखको ठाटिकाँध गाउँपालिकाको १८औँ अधिवेशन तथा हिउँदे गाउँसभा आज एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ।
अधिवेशनले १७औँ गाउँसभाबाट विनियोजित बजेट तथा योजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बिनियोजन विधेयक, आर्थिक कार्यविधि तथा आवश्यक संशोधित योजनाहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
विगतझैँ विवादरहित रूपमा सम्पन्न अधिवेशनमा गाउँपालिका अन्तर्गतका विभिन्न समिति तथा उपसमितिहरूले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ गाउँसभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले सहजिकरण गर्नुभएको थियो।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालले आर्थिक विनियोजन विधेयक र आवश्यकताका आधारमा संशोधित योजनाहरू सभा समक्ष प्रस्तुत गर्नुभएको थियो।
अधिवेशनपछि बोल्दै गाउँपालिका अध्यक्ष शाहले विगत कार्यकालको समीक्षा गर्दै आगामी दिनमा समृद्ध ठाटिकाँध गाउँपालिका निर्माणका लागि सबै जनप्रतिनिधि एकमत भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त अधिवेशनको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले गर्नुभएको थियो।
