कृषिलाई प्राथमिकता दिदै चामुण्डाविन्द्रासैनीले ल्यायो ४५ करोडको बजेट
दैलेख । आगामी बर्ष ०७८। ७९ का लागि चामुुण्डाविन्द्रासैनी नगरपालिकाले ४५ करोड भन्दा बढी बजेट ल्याएको छ । विहिवार नवौं नगर सभामार्फत ४५ करोड ३ लाख ३९ हजार ३२ रुपैयाँको बजेट ल्याएको हो ।
चामुण्डाविन्द्रासैनी नगरपालिका उप प्रमुख तारा शाहीले प्रस्तुत गरिएको आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता राखिएको छ । कृषि, शैक्षिक क्षेत्र, खेलकुद जस्ता कुरालाई प्राथमिकतामा राख्दै कृषि क्षेत्रमा, एक वडा एक नर्सरी, मकै पकेट क्षेत्र, भैंसी तथा दुग्ध प्रवर्धन जस्ता थुप्रै कार्यक्रम अघि सारिएको छ ।
यस्तैगरि एक टोल एक खेल मैदान निर्माण गर्ने, आयमुलक जैविक मैत्री हरियाली सडक निर्माण गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरिएको छ ।
त्यसैगरि वडा नम्बर ६ को लैनचौरलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने, नगर बसलाई दुल्लु नगरपालिकासम्म विस्तार गर्ने साथै बहुप्राविधिक शिक्षालयको नीतिलाई अघि सारिएको छ । उपप्रमुख शाहीले कोरोना रोकथाम तथा न्यूनीकरणसँगै विकास निर्माणका कामलाई समेत अघि बढाएको बताइन् । नगरले चालु आर्थिक वर्षमा झन्डै ४२ करोडको बजेट ल्याएको थियो ।
