ओली जेठ २ मा फर्किन तयार
मध्यमार्गी धार लिएका नेताहरु एमालेमै रहने
काठमाडौँ । नेकपा एमालेकाे एकताका लागि मध्यमार्गी धार लिएका नेताहरु र संस्थापन पक्षबीच कुरा मिलेकाे छ।
अध्यक्ष केपी ओलीले १० बुँदे सहमति पालना गरी पार्टीलाई जेठ २ मा फर्काउने प्रतिवद्धता जनाएपछि मध्यमार्गी धार लिएका नेताहरु एमालेमै रहने भएका छन्।
साेमबार बिहान भएकाे वार्तामा सहमति जुटेसँगै अब एमाले एकतावद्ध भएर अगाडि बढ्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
आजकाे वार्तामा पार्टीकाे सबै संरचनालाई जेठ २ काे स्थितिमा फर्काउने सहमति जुटेकाे छ। यस अवघिमा भएका निर्णयहरुबारे पनि आवश्यक छलफल गर्दै जाने सहमति पनि भएकाे छ।
आज भएकाे सहमतिलाई र यसअघिकाे १० बुँदे सहमति कार्यान्वयनका लागि भाेलि बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमार्फत आवश्यक कार्यतालिका निर्माण गरिने पनि प्रवक्ता ज्ञवालीले बताए।
बैठकपछि नेता याेगेश भट्टराईले पनि आफूहरुबीच एमालेलाई एकतावद्ध बनाएर लैजाने सहमति भएकाे बताए। उनले माधवकुमार नेपालले पार्टी विभाजन गर्न हतार गरेकाे बताए।
तर अझै पनि आफूहरु नेता नेपाललाई एमालेमै फर्काउने प्रयासमै रहेकाे उनले बताए।
‘माधव नेपाललाई साथ दिँदै आएका थियौँ। तर उहाँले पार्टी फुटाउने कुरामा हतार गरेर अगाडि बढ्नुभाे। उहाँलाई समेत एमालेमा फर्काउने गरी प्रयास गर्छाैँ’, भट्टराईले भने।
उनले एमाले विभाजन गर्ने बाहेकका सबै कुरामा साथ दिन्छाैँ भन्दा पनि नेता नेपालले विभाजन नै राेजेकाे बताए।
भट्टराईका अनुसार आजकाे वार्तामा १४ जना सांसदलाई गरिएकाे कारबाही पनि फिर्ता लिन अध्यक्ष ओली सहमत भएका छन्।
