मानव र मानव समाज : उत्पत्ति, विकास र भविष्य
वर्तमान मानवको उत्पत्ति कहिले भयो र कहिले यसले सामाजिक रूप धारण गर्यो ? त्यस कालखण्ड वा तिथि मितिबारे निश्चितासाथ भन्न सकिन अवस्था आज छैन। त्यस्तै अनिश्चितता वर्तमान मानवका पूर्वज र त्यसको इतिहासको विषयमा पनि विद्यमान छ। तर, विज्ञान तथा प्रविधिको विकाससँगै वैज्ञानिकहरूले यस दिशामा केही अनुमानित तर सम्भावित ठोस आधारसहितका केही निचोड प्रस्तुत गरेका छन् र त्यसको आधारमा केही आधिकारिक अवधारणा प्रस्तुत गरेका छन्। यसका साथै यस दिशामा निरन्तर अनुसन्धान र खोज जारी छ। विगतका खोज र अनुमानहरूको आधारमा यो निश्तिरूपमा भन्न सकिन्छ कि मानवको उत्पत्ति करोडौं वर्ष लामो प्राकृतिक परिवर्तन र विकास प्रक्रियाको परिणाम हो। खोजकर्ता र अनुसन्धानकर्ताहरूले यसको सम्भावित क्रमिक विकासलाई चरणबद्ध गरी विभिन्न चरणहरूको मोटामोटी काल अवधि निर्धारण गर्नुका साथै त्यसका केही आधार तथा सिद्धान्त पनि प्रस्तुत गरेका छन्।
यही कुरा आजको मानवका पुर्खाबारे पनि लागू हुन्छ। तर एउटा कुरा अझै सर्वसम्मत र यथार्थपरकरूपमा स्थापित भइसकेको छैन कि आज पृथ्वीको विभिन्न भागमा बसोबास गर्ने विभिन्न अनुहार र प्रकृतिका मानिसको पुर्खा एउटै थियो वा विभिन्न कालखण्डमा र विभिन्न स्थानमा अस्तित्वमा आएका र आ-आफ्नो ऐतिहासिक कालमा बाचेका भिन्ना-भिन्नै आदिमानव (ऐप्स्)हरू थिए ? अथवा अहिले अनुमान गरिएका विभिन्न आदिमानवहरूको उदय र अन्त हुँदै जाने क्रममा कुनै एक पछिल्लो आदि मानवको वंशज आजको मानव जाति हो ? अथवा होइन ? यद्यपि आजको मानवलाई होमोसेपिन्सको वंशज मानिँदै आएको छ। तर, यस सम्बन्धमा पनि विभिन्न मत छन्। यस विषयमा विस्तृत विवेचना गर्ने यस लेखनको विषय नभएकोले आजलाई सामान्य जानकारीका लागि र मानव इतिहासको भौतिकवादी अवधारणालाई बुझ्न सहयोगी हुने र मानव सभ्यताको विकासबारे स्वीकार गरिएका कालखण्डबारे सामान्य जानकारी तल प्रस्तुत गर्न खोजिएको हो।
पुरातत्व विदहरूले मानव सभ्यताको विकासका विभिन्न चरणहरूमा मानवद्वारा उपयोग गरिएको मानिएका श्रमका औजारका प्राचीन अवशेषहरूको आधारमा मानव सभ्यताको विकासका कालखण्डहरू निर्धारण गर्ने प्रयास गरेका छन् र मानव सभ्यताको विकासलाई पुरापाषाण युग, मध्यपाषाण युग, नवपाषाण युग, ताम्र युग, कांस्य युग, लौह युग, आधुनिक युग र तिनका विभिन्न उपचरण गरी विभिन्न कालखण्डहरूमा विभाजित गरेका छन् र आज यिनै चरणहरूलाई सर्वमान्य रूपमा स्वीकार गरिएको छ। अर्कोतर्फ भूगर्भ वैज्ञानिकहरूका अनुसार धरतीमा मानवको आदि पुर्खा पशुमानवको आविर्भाव चतुर्थ महाकल्पमा भएको थियो। त्यो कालखण्ड उत्तरी एसिया, युरोप र अमेरिकामा हिउँ पग्लिन र गर्मी बढ्न थालेको कालखण्ड थियो। त्यसवेला त्यस पशुमानवमा अन्य पशुजगतभन्दा केही सामान्य भिन्नता प्रकट भएका थिए जसमा क्रमिक विकास हुँदै कालान्तरमा त्यो पशुमानव आधुनिक मानवको रूपमा परिणीत हुन पुग्यो।
अर्कोतर्फ पुरातत्वविदहरूले पनि मानवद्वारा जीविकोपार्जनका लागि सामाग्री प्राप्त गर्न श्रमका औजारहरूको रूपमा प्रयोग गर्न निर्माण गरिएका साधनहरूको आधारमा पनि मानव सभ्यता विकासको क्रमिकतालाई चार कालखण्डमा विभाजित गरेका छन्- पाषाण युग, ताम्र युग, कांस्य युग र लौह युग। तर, जीविकोपार्जनका लागि प्रकृतिमा स्वतः प्राप्त हुने भोग्य सामाग्रीको खोज र सञ्चय गरी राख्ने कालखण्डमा आदि मानवले यस्ता कुनै स्वनिर्मित साधनहरूको प्रयोग गरेका थिएनन्। यी पछिको क्रमिक विकास प्रक्रियाका विविध कालखण्डहरू हुन् र यी वर्तमानमा स्थापित मान्यता हुन्। तर, दिनप्रतिदिनका अनुसन्धान, विज्ञान तथा नयाँ प्रविधिको निरन्तर विकास र नयाँ-नयाँ आविष्कारबाट सञ्चित ज्ञानभण्डाको आधारमा सधैं नयाँ-नयाँ अनुसन्धानको प्रक्रिया जारी छ र जारी रहने छ। हुन सक्छ आउँदा दिनहरूमा प्राप्त हुने नयाँ तथ्यहरूबाट यी मान्यताहरू खण्डित होउन् र नयाँ अवधारणा अगाडि आउन्। अहिले नै किटानसाथ भन्न सक्ने अवस्था रहँदैन।
अहिलेसम्म पश्चिमा अनुसन्धाताहरूले आधुनिक मानवको विकास इसापूर्व चालीस हजार वर्षदेखि बाह्र हजार वर्ष इसापूर्व अर्थात् पुरापाषाणकालको उत्तरार्ध र पाषाण कालभित्र मानेका छन् भने हाम्रो परापौराणिक मान्यता तथा ज्योतिष शास्त्रको युग विभाजन अनुसार सृष्टिको उत्पत्ति एक अरब पञ्चानब्बे करोड उनन्साठी लाख वर्ष पहिले भएको मानिएको छ र वर्तमान सभ्यतालाई चतुर्युग मध्येको अन्तिम युग-कलियुग मानिएको छ, जसको जीवनकाल अहिले पाँच हजार एक सयभन्दा केही बढी पुगेको मानिएको छ। मानव समाजको इतिहास जसको हामी आजभोलि अध्ययन गर्छौ त्यसको जीवनकाल करिब करिब यही पाँच हजार वर्षको सेरोफेरोमा छ। भौगर्भिक टाइम लाइनले आजभन्दा त्रिचालीस करोड पचास लाख वर्ष अगाडि जलमा जीवनको उत्पत्तिको अनुमान गरेका छन् र मानवको आदिरूप एप्सहरूको उत्पत्ति तीन करोड असी लाख वर्षपूर्व अनुमान गरेका छन्। पचास लाख वर्षपूर्व मानिससँग मिल्दोजुल्दो एप अफ्रिकामा उत्पन्न भएको मानेका छन् र अठार लाख वर्षपूर्व आधुनिक मानवको पूर्वज आदि मानवको प्रादुर्भाव भएको मानेका छन्।
धरतीमा जीवनको उत्पत्ति र विकासबारे पनि विभिन्न अवधारणाहरू छन्। प्राचीन भारतीय दर्शनअनुसार जीवनको उत्पत्ति आदितत्वमा क्रमिक विकार (परिवर्तन) बाट पञ्च महाभूत र तन्मात्रहरूको उत्पत्ति र त्यसबाट सृष्टि अर्थात् प्रकृति र पुरुषको उत्पत्ति भएको र तिनको पारस्परिक संयोजनबाट समय र ब्यौममा सृष्टि र जीवजगतको उत्पत्ति मानिएको छ भने आधुनिक ब्रिटिस महान् वैज्ञानिक हकिन्सनका अनुसार आजभन्दा तेह्र अरब पचास करोड वर्षपूर्व एउटा महान् विष्फोट (बिगबाङ्)का कारण पदार्थ (मैटर) तेज (इनर्जी), समय (टाइम) र आकाश (स्पेस) अस्तित्वमा आए। त्यसको तीस लाख वर्षपछि पदार्थ र तेजको पारस्परिक मिलन वा घुलनबाट (प्राची भारतीय दर्शनमा यिनमा उत्पन्न ‘विकार’ अर्थात् परिवर्तन, का कारण भनिएको छ) पदार्थको मूल आधार परमाणु (एटम्) को जन्म भयो, परमाणुको संयोजनबाट अणु र मौलीकूलको संयोजनबाट बढी जटिल जैविक संरचना उत्पन्न भएपछि जैविक सृष्टिको प्रारम्भ भएको मानिएको छ।
आधुनिक वैज्ञानिकहरूले विभिन्न जीवहरूलाई उनका उत्पत्तिको मूल पूर्वजको आधारमा विभिन्न समूहहरूमा विभाजित गरी मानिसलाई बुद्धिमान जीव परिवारमा राखेका छन् र आधुनिक मानवलाई त्यसको वंशज मानिएको छ। यसअनुसार मानवको पूर्वज पच्चीस लाख वर्ष पहिले सर्वप्रथम अफ्रिकामा विकसित भएको मानिएको छ, जसलाई वैज्ञानिकहरूले अष्ट्रालो पीथीकस अर्थात् दक्षिणी आदि मानव नाम दिएका छन् र करिब बिस लाख वर्ष पहिले यो जमात त्यहाँबाट उत्तरी अफ्रिका हुँदै युरोप तथा एसियाका विभिन्न भाग हुँदै इण्डोनेसियासम्म फैलियो भन्ने अनुमान गरेका छन्। यसअनुसार पृथ्वीको विभिन्न भागमा बसोबास गर्ने मानवमा बायोलोजीकल समानता भए पनि भौगोलिक र वातावरणीय प्रभावले भिन्न-भिन्न विशिष्ट शारीरिक बनौट र पहिचानसहितका मानवहरूको विकास भएको मानिएको छ, जसलाई वैज्ञानिकहरूले विभिन्न नाम दिएका छन्। जस्तै युरोप र पश्चिम ऐसियमा बसोबास गर्ने आदिमानवहरू नियान्दरथालस् विशालकाय र हृष्टपुष्ट थिए भने एसियाको पूर्वी भागमा ‘होमो इरेक्टस्’ अर्थात् उन्नत र ठाडो मानिस, जुन आदि मानव बिस लाख वर्ष अस्तित्वमा रहेको मानिन्छ र त्यो कालखण्ड आधुनिक मानवको अस्तित्वकाल भन्दा पनि बढी मानिएको छ। त्यस्तै इण्डोनेसियाको जावा द्वीपमा ‘होमो सोलोनेसिस’ अर्थात् सोलो उपत्यकाको मानिस भनेका छन्। (यूभल नोआह हरारी- सेपिन्स २०१४ पेङ्गुइन, लण्डन।)
विगतमा अनेकौं दार्शनिक, वैज्ञानिक, समाजशास्त्र, चिन्तकहरूले मानव र मानव समाजलाई अन्य प्रकृतिभन्दा भित्र ईश्वरीय अनुकम्पा र चाहनाको निर्माणको रूपमा लिँदै आएका हुन् र यो धारणा आज पनि यत्रतत्र विद्यमान छ। तर, माथिका अनुसन्धान तथा तथ्यहरू पृथ्वीमा मानवको उत्पत्ति लामो प्राकृतिक विकास प्रक्रियाको परिणाम भएको र मानव समाजको विकास र गतिशीलता त्यसद्वारा गरिने उत्पादनका हतियारको निर्माण र उत्पादन प्रक्रियासँग जीवन्तरूपमा जोडिएको र त्यसको विकाससँगै मानव सभ्यताको विकास भएको प्रमाणित गर्छन्। मार्क्सले मानव समाजका इतिहासको विकास प्रक्रियालाई यसै भौतिकवादी यथार्थको रूपमा हेरेका छन् र मानव इतिहास बस्तुगत नैसर्गिक नियम अन्तरगत विकास भएको भन्दै इतिहासको भौतिकवादी व्याख्या प्रस्तुत गरेका छन्। जसको आधारमा कम्युनिष्टहरू सामाजिक विकासको अवस्था र आफ्ना क्रान्तिकारी राजनैतिक र सामाजिक गतिविधि गरिरहेका छन्।
धरतीमा जीवनको उत्पत्ति र त्यसको क्रमिक विकासको उपरोक्त विवरण र बौद्धिक जीव होमो सेपिन्सदेखि आजका मानव सम्मको समाज विकासको लामो यात्राको भौतिकवादी चरित्रको छोटो परिचय मानव समाज तथा त्यसका विकासको भौतिकवादी आधार प्रस्तुत गर्ने उद्देश्यबाट गरिएको हो र यो मानव जातिको उत्पत्ति तथा विकास र त्यसको सामाजिक विकास बुझ्न आवश्यक छ। तर, हाम्रो आफ्नो राजनैतिक र सामाजिक गतिविधिका लागि हामीले वर्तमान समयको मानव समाज र त्यसमा पनि विशिष्टरूपमा आफ्नो समाजलाई बुझ्नु प्रथम आवश्यकता हो। माथि उल्लिखित छोटकरी विवेचनाले मार्क्सद्वारा प्रतिपादित समाज विकासको भौतिकवादी विश्लेषण बुझ्न र त्यस अनुसार आफ्ना समाजको विशिष्ट चरित्रको विश्लेषणसहित आफ्ना क्रान्तिकारी गतिविधिहरूलाई निर्धारित र निर्देशित गर्न कम्युनिष्टहरूलाई मदत गर्ने छ।
मानव समाजको विकासमा तीन वटा मुख्य क्रान्तिकारी ऐतिहासिक चरण मानिएका छन्- पहिलो, चेतना विकासको क्रान्तिकारी चरण, जुन क्रान्तिकारी परिवर्तनबाट मानवले बाह्यजगतलाई आत्मसाथ गर्नसक्ने क्षमता प्राप्त गर्नुका साथै आफ्ना मनोभाव र सूचना परस्पर साटा-साट गर्न इसारा तथा थरीथरीका आवाजको प्रयोग र त्यसपछि आदिम भाषाको प्रयोग, स्मरण शक्ति, पुनरावृत्ति गर्नसक्ने सीप, पुनरुत्पादनको चेतनाको विकास गर्यो। त्यो मानव जातिले पार गरेको प्रथम क्रान्तिकारी परिवर्तनको चरण थियो। दोस्रो- आदिम अवस्थाबाट कृषि कर्ममा संक्रमणको क्रान्तिकारी चरण, जसको सुरुआत पश्चिमा केही विद्वानहरूले आजभन्दा बाह्र हजार वर्ष पहिले मानेका छन्। तर, मेरो विचारमा यसको इतिहास यति छोटो छैन। यस क्रान्तिको सबभन्दा अहम् पक्ष भनेको मानवले नियमित र पूर्व योजनाअनुसार बस्तु उत्पादन र पुनरुत्पादनको परिपाटी अपनाउनु हो। यद्यपि यसका तौरतरिका तथा स्तर फेरिँदै आएका छन् र फेरिँदै रहने छन्। तर, सामाजिक उत्पादन मानव जीवनको आधार हो। तेस्रो क्रान्ति- आजभन्दा पाँच सय वर्ष अगाडि सुरु भएको वैज्ञानिक क्रान्तिको चरण, जुन निरन्तररूपमा अगाडि बढ्दैछ र अहिले एकतर्फ माइक्रो विज्ञान पदार्थको सूक्ष्मता गहिराई तर्फ गइरहेको छ भने अर्कोतर्फ अन्तरिक्षका गहिराई, ब्रह्माण्डीय संरचना र खगोलीय उत्पत्तिको खोजीमा छ। अर्कोतर्फ सूचना प्रविधिको अति तीव्र विकास, नयाँ नयाँ वैज्ञानिक अनुसन्धान मानव मष्तिष्कलाई चुनौती दिने दिशामा अगाडि बढ्दै छ। यस दौडमा हजार वर्षपछिको मानव र मानव समाज कुनरूपमा होला कल्पना गर्न गाह्रो छ।
मानव विकासको प्रक्रिया र त्यसका चरणहरूलाई सरसरती हेर्ने हो भने सर्वप्रथम आदि मानव आफ्नो दैनिक जीविकाका लागि प्रकृतिमा प्राप्त भइरहने उपभोग्य बस्तुहरू खोज्ने, संकलन गर्ने र उपभोग गर्ने अवस्थामा थियो। उ अझै अन्य प्राणी जगतबाट आफ्ना विशिष्टतासहित अलग भइसकेको थिएन। त्यसपछि हाम्रा पूर्वजहरूले आफ्नो दैनिक भोजन प्राप्त गर्न र आफ्नो आत्मरक्षाका लागि प्राकृतिकरूपमा प्राप्त साधनहरू, जुन उसको श्रमका औजार थिए, को प्रयोग गर्ने चरणमा प्रवेश गर्यो। यो चरण नै मानवका सचेत श्रम र श्रमका औजारका प्रादुर्भावको चरण थियो। यसैचरणबाट मानिस अन्य जीवजगतबाट अलग्गिएर आफ्नो विशिष्ट पहिचानसहित ‘मानव’मा संक्रमण गर्यो। यो मानव र मानव समाज निर्माणको दिशामा पहिलो महान् क्रान्ति थियो जसले जीवजगतमा मानवलाई सर्वोत्कृष्ट चैतन्य प्राणी बन्ने दिशामा अग्रसर गरायो।
मानवका यस्ता श्रमिक क्रियाकलापका दुई विशेष परिणाम थिए। पहिलो- यसबाट मानवले आफ्ना अंगप्रत्यंगहरूलाई प्राकृतिक वातावरणसँग आफ्नो तादात्म्य मिलाउन मात्र नभई श्रमिक गतिविधिमा संलग्न गराउनु र ज्ञानको प्रयोग गरी बिस्तारै तिनलाई श्रमिक गतिविधिमा संलग्न गरी श्रम गर्ने बौद्धिक क्षमताको र प्रकृतिमा सोझै उपभोग गर्न सकिने अवस्थामा पाइने कन्दमूल, फल, वन्यजन्तु आदि जस्ता बस्तु संकलन गरी उपभोग गर्नु काम त हो तर, उत्पादक र पुनरुत्पादक श्रम होइन। उत्पादक श्रम ती बस्तुहरूलाई तिनको प्राकृतिक अवस्थाबाट परिवर्तन गरी तिनलाई बढी उपयोगी वा उपभोग्य बनाउन गरिने उद्देश्यमूलक काम हो, जुन मानिसको मस्तिष्कभित्र बन्ने अवधारणाहरूबाट निर्देशित हुन्छ। मानिसलाई नवनिर्माण गर्न उत्प्रेरित गर्ने चेतना शक्ति र कार्य सम्पादन गर्ने श्रम शक्ति एउटै कुरा होइनन्। नवनिर्माणका लागि उत्प्रेरित गर्ने सोच कुनै एउटाको हुन सक्छ र त्यसलाई कार्यरूप दिने काम कुनै अर्को व्यक्ति वा समुदाय, ज्यासल वा कारखाना आदिको श्रम शक्ति हुन सक्छन्। कुनै एउटाका मस्तिष्कको परिकल्पनालाई उसैले कार्यरूप दिनुपर्छ भन्ने छैन त्यो अरूलाई हस्तान्तरण गर्न पनि सकिन्छ। तर त्यसको प्रेरक र बाहक शक्ति मानव चेतना नै हो। अन्य जीवजगत र मानिस बिचको यही भिन्नता मानिसको पहिचान र सामाजिक जीवनको चारित्रिक विशेषता हो।
दोस्रो- श्रमका औजारको निर्माणसँगै कल्पनाशील विचारहरूको कार्यान्वयन प्रक्रिया र स्मरण शक्तिको आधारमा पुनरुत्पादनको सीप विकास, जसको परिणाम नै मानव सभ्यताको विकास हो। सचेतनाबाट निर्देशित भएर गरिने उद्देश्यमूलक श्रमको परिणाम नै सामाजिक उत्पादन हो। तर, अर्कोतर्फ स्वयं मानव र मानव समाज आफैमा यस सचेतन श्रमको उत्पादन पनि हो। मानव सभ्यताको विकासमा पहिलो स्थान उद्देश्यमूलक श्रमको हो भने त्यसपछि दोस्रो स्थानमा विचार विनिमयको साधनका रूपमा रहने भाषाको विकास हो। यी दुइटै सर्वोपरि महत्पूर्ण उत्प्रेरक कारक हुन जसको प्रभावले नरवानरको मस्तिष्क बिस्तारै मानव मस्तिष्कमा परिवर्तन भएको हो। अतः मानवद्वारा श्रमको पहिलो साधनको रूपमा प्रयोग गरिएको उसको हात केवल उसको श्रमको औजार मात्र नभई स्वयम यस श्रम प्रक्रियाले निर्माण गरेको श्रमको उत्पादन पनि हो। यस क्रान्तिको अर्को अहम् पक्ष हो आफ्ना श्रमिक क्रियाकलासँगै मिलीजुली काम गर्न र आफ्ना अनुभव र सोच तथा संवेगहरूको आदान प्रदानका लागि भाषाको विकास।
यस आधारमा हामी ‘मानव’ बन्ने प्रक्रियाका दुइटा मुख्य चरण देख्छौ। पहिलो चरण श्रमको साधन कामका औजारको निर्माणको थालनीको समय, जुन कालखण्ड कतिपयले आजभन्दा दश लाख वर्ष पूर्व, जब भर्खर भर्खर पिथेकान्थ्रोपस् र निआन्देरथल मानव जस्ता आदि मानवको आधुनिक मानवजीव बन्ने दिशामा संक्रमण हुँदै थियो, भनी मानेका छन्। दोस्रो चरण, जुन करिब एक लाख वर्ष पूर्व सुरु भएको मानिन्छ, आदि पाषाण युगीन मानवबाट आधुनिक मानवमा संक्रमणको चरण, जब मानिसले ढुंगा, हाड, जनावरका सिङ आदिबाट श्रमका साधन औजारहरूको निर्माण गर्न थाल्यो र उत्पादन प्रक्रियाको विकास तथा यस सँगसँगै आदिम सामाजिक संरचनाको सुरुवात भयो। यी सम्पूर्ण परिघटना, विकास प्रक्रिया र परिवर्तनका अवस्थाबाट के स्पष्ट हुन्छ भने आधुनिक मानव एउटा सामाजिक प्राणीको रूपमा उसका उत्पादनमूलक क्रियाकलापकै कारण स्थापित भयो र समाजभन्दा बाहिर निरपेक्ष रूपमा न कहिले उसको अस्तित्व सम्भव थियो र न सम्भव हुन नै सक्दछ।
मानिसलाई अन्य जीव जगतबाट अलग्ग र विशिष्ट स्थानमा पुर्याउने अन्य विविध पक्षका साथै सर्वाधिक महत्त्वको पक्ष उसको श्रम हो, जसबाट उसले अन्य जीवजगत भन्दा भिन्न आफ्नो भरण पोषण तथा जीवन निर्वाहका साधनको जगेर्ना आफ्नो श्रमबाट गर्छ र आवश्यकता अनुसार तिनको पुनरुत्पादन गर्छ। नयाँ उत्पादनका लागि नयाँ औजार, श्रमका नयाँ विषयवस्तु र क्षेत्र खोज्दछ। आफू अनुकूल तिनको उपभोग र उपयोग गर्दछ। ‘..मानिस आफूलाई अरू जनावर भन्दा भिन्न र विशिष्ट पहिचान दिन त्यसवेला सफल भयो, जब उसले आफ्नो भरण पोषण र जीविकोपार्जनका लागि आफ्नै श्रमबाट उत्पादन गर्न थाल्यो…’। (मार्क्स- ऐंगेल्स- जर्मन आडियोलोजी पे.३१)
जब हामी कुनै पनि समाज विशेषको विकासका सम्भावनाहरू बारे कुरा गर्छौं, त्यसभित्र सामाजिक चेतना, तिनको विश्वास, तिनले प्राप्त गरेका र भोगेका अनुभव, सामाजिक रीतिथिति, परम्परा, त्यसको पर्यावरण, प्राविधिक र सांस्कृतिक अवस्था आदि यावत सामाजिक विशेषता र बस्तुगत अवस्था हेर्न पर्ने हुन्छ। सामान्यतया कुनै पनि समाज वा व्यक्ति एकैपल्ट विकासका लागि प्रकृति प्रदत्त सम्पूर्ण सम्भावनाहरूको उपयोग गर्न सक्दैन। प्राप्त ज्ञान र सम्भावनाको आधारमा त्यसको सानो अंश मात्र उपयोग गर्न सक्दछ। सम्भावना अनेक हुन सक्छन्, तर, तिनको उपयोग अवस्था विशेषमा सम्भव हुने हदसम्म मात्र गर्न सकिन्छ। विज्ञान तथा प्रविधिको वर्तमान विकासले सम्भावनाहरूको अनन्त भण्डार खोलेको छ। यो अवस्था प्रकृति विज्ञानको क्षेत्रमा मात्र होइन सामाजिक क्षेत्र, राजनैतिक क्षेत्र, वैचारिक क्षेत्र आदि यावत क्षेत्रमा छ।
समाज परिवर्तनको नेतृत्व गर्ने राजनैतिक कार्यकर्ताहरूले आवश्यकता, सम्भाव्यता, क्षमता र उपलब्धताको अध्ययन र विश्लेषण गरी तिनको समुचित उपयोग गर्न आफ्नो लक्ष सापेक्ष रहेर अधिकतम उपयोगको कार्यनीति अपनाउन आवश्यक हुन्छ। ऐतिहासिक भौतिकवादले हामीलाई ऐतिहासिक विकास प्रक्रियालाई ठोस सामाजिक अवस्था र ऐतिहासिक चरण सापेक्ष अध्ययन गर्नुपर्ने मार्ग निर्देशन गर्दछ, ताकि ऐतिहासिक विकास प्रक्रियालाई तत्तत् समाजका सम्पूर्ण सामाजिक पक्षहरूको विशिष्टता सापेक्ष रूपमा बुझ्न सकियोस्। मार्क्स र ऐंगेल्स्ले सामाजिक उत्पादन प्रणाली र उत्पादन सम्बन्ध मानव समाज विकासको मुख्य आधार हुन् भन्नु भयो। तर यसको यो अर्थ कदापि होइन कि यस प्रक्रियामा अरू सामाजिक, प्राकृतिक अवस्था वा सामाजिक सम्बन्धहरूको कुनै प्रभाव वा स्थान छैन अथवा ती पक्षहरूको महत्त्व छैन र तिनलाई नजरअन्दाज गर्न सकिन्छ। बल्की यसको विपरीत मार्क्स ऐंगेल्स्ले यी पक्षहरूलाई विशेष महत्त्वका साथ हेरेका छन्।
माथि भनियो सामाजिक गतिका आमनियम पनि प्राकृतिक गतिका आम नियम कै अनुसरण गर्छन्। यो निर्विकल्प सत्य हो। तर, यस्तो भन्नुको अर्थ ती नियम यथावत् रूपमा समाजमा पनि लागु हुन्छन् भन्ने कदापि होइन। बल्की सामाजिक गतिका नियमको मूल प्रवृत्ति पनि द्वन्द्वात्मक भौतिकवादका मूल प्रवृत्तिभन्दा बाहिर निरपेक्षरूपमा छैन भन्ने मात्र हो। र, यी नियम समाजमा आफ्नै विशिष्टता सहित लागू छन् भन्ने अर्थमा हो। समाज विकासका नियम प्रकृतिका आमनियम भन्दा भिन्न यस अर्थमा छन् कि यी समाजको विशिष्टता तथा मानवको सचेत क्रियाकलापको माध्यमबाट समाजमा लागू हुने आमनियम हुन र समाजभन्दा बाहिर यसैरूपमा अन्यत्र कतै लागु हुँदैनन्। प्रकृतिमा ‘समष्टि’का आमनियम सर्वत्र लागू छन्। तर ‘विशिष्ट’का आम नियम प्रत्येक विशिष्टमा मात्र आफ्नै किसिमले लागू हुन्छन् र त्यही विशिष्टका अन्तरस्थ नियमहरूको रूपमा अभिव्यक्त हुन्छन्। सबैको साझा चरित्र आन्तरिक द्वन्दजनित गति र परिवर्तन नै हो। यहाँ ‘प्रकृति’ शब्दलाई उसको संकीर्ण अर्थमा होइन उसको अपरिमेय रूप, सार र सम्बन्ध सहित सृष्टि संरचनाको ‘समष्टि’को अर्थमा लिनु पर्दछ।
निश्चित नै मानव जातिको इतिहास सधैं एउटा अ-व्यतिक्रम निरन्तर उध्र्वगामी सरल रेखामा अगाडि बढेको छैन र बढ्दैन पनि। व्यतिक्रम विहीन उध्र्वगामी सरल रेखामा निरन्तर यसको गति भइदिएको भए यो निश्चय नै अलौकिक परिघटना हुने थियो। तर त्यसो हुँदैन, किन कि यसको बाटोमा अनेकौं व्यवधान, पश्चगमनकारी घटना, उतारचढाव, बर्बर युद्धहरू, बाह्य अतिक्रमण, राज्यहरूको पतन र उत्थान आदि यावत् मोडहरू आउने गर्छन्। तै पनि, समग्रतामा हेर्ने हो भने, यी सब बाधा, व्यवधान, मोड, उतारचढावका बाबजुद मानव इतिहासको विकास एउटा सामाजिक-आर्थिक संरचनाबाट अर्को बढी प्रगतिशील र उन्नत सामाजिक-आर्थिक संरचनामा संक्रमण गर्दै अविच्छिन्न उध्र्वगामी दिशामा नै अगाडि बढेको छ र यो सब मानिसको सृजनात्मक सक्रिय र सचेत क्रियाकलापबाट मात्र सम्भव हुन्छ। सामाजिक विकासका चरित्रको समष्टिगत अध्ययनले के देखाउँछ भने ऐतिहासिक विकास प्रक्रियाको सार्वभौम चरित्र उध्र्वगामी छ, तर, यसमा सर्वाधिक समरूपता छैन।
बल्की समय, अवस्था स्थान आदि विविध कारणले त्यस विकास र परिवर्तनको स्वरूप, अवस्था र चरणहरूमा उतार चढाव रहन्छ। ऐतिहासिक भौतिकवाद अनुसार सामाजिक विकासको सार्वत्रिक चरित्र सरल-रेखात्मक नभई उतार, चढाव, व्यतिक्रमसहितको वक्र रेखात्मक उध्वगामी छ। यस अर्थमा ऐतिहासिक भौतिकवादले विकासको सरल-रेखात्मक सिद्धान्तलाई अमान्य गर्छ, किन भने सरल-रेखात्मक उध्र्वविकासको सिद्धान्तले स्थान, समय र अवस्था विशेष जस्ता कारणहरूले यस विकास प्रक्रियामा पार्ने प्रभावलाई समुचित स्थान दिँदैन र ऐतिहासिक विकास प्रक्रियाको दौरान उत्पन्न हुने अन्तरद्वन्द्व, आउने अनपेक्षित मोडहरू, अवाञ्छित र अनायास हुने घटनाहरूबाट हुने अस्थायी प्रतिगमन वा अल्पकालिक रोकावट, क्रान्तिकारी विस्फोटको प्रभाव आदि कारणले ऐतिहासिक विकास प्रक्रियामा पार्ने प्रभावबाट उत्पन्न हुने विविधताको अवस्थालाई हेर्दैन।
मार्क्सको क्रान्तिकारी ऐतिहासिक भौतिकवादी सामाजिक सिद्धान्तलाई मानवको सृजनात्मक र सक्रिय परिवर्तनकारी गतिविधिको अटुट शृंखला बाहेक अन्यथा हेर्न मिल्दैन र त्यो सम्भव पनि छैन। बुझ्नु पर्ने आधारभूत कुरा के हो भने समाज विकासका नियमहरू सामान्यतया एउटा आम प्रवृत्तिको रूपमा काम गर्छन् र ती आफ्नो बाटोमा आउने अनेकौं बाधा व्यवधानहरूबाट क्षणिक रूपमा प्रभावित पनि हुने गर्छन्। अनेकौं आकस्मिक घटनाहरू, शत्रु पक्षबाट प्रस्तुत गरिने व्यवधान तथा विपरीत सामाजिक प्रवृत्तिसँग लड्दै भिड्दै र तिनलाई परास्त गर्दै समाज प्रगतिको दिशामा अगाडि बढ्छ। प्रत्येक ऐतिहासिक युगका विविध कालखण्डमा विद्यमान रहने यस्ता प्रतिलोम प्रवृत्ति र त्यस्ता प्रवृत्ति र शक्तिहरूसँगको संघर्षले के देखाउँछ भने इतिहासको हरेक कालखण्डमा सधैं अग्रगामी र प्रतिरोधी प्रतिगामी शक्ति विद्यमान रहन्छन्। अग्रगमनका लागि प्रतिगमनकारी शक्तिको प्रतिरोधलाई परास्त गर्नै पर्छ तब मात्र अग्रगमनको मार्ग सुनिश्चित हुन्छ।
मानव समाजको भविष्य दुइटा पक्षबाट हेर्न सकिन्छ। पहिलो, प्रकृतिका सार्वभौम नियमको पक्षबाट। यस प्रक्रियामा मानव समाज निरन्तर असीम विकासको दिशामा छ र यो अविच्छिन्न रूपले त्यस दिशामा गतिमान रहने छ। अर्को मानवका अवाञ्छित गतिविधिहरूबाट निस्कन सक्ने अवाञ्छित परिणामको पक्षबाट। प्राकृतिक नियम शाश्वत छन् आफ्नो काम गर्दै रहने छन् र मानव समाज निरन्तर परिवर्तन र विकासको मार्गमा अगाडि बढ्दै रहने छ। तर, उत्पादन र उपभोगको तृष्णासङ जोडिएको मानव एकतर्फ निरन्तर नयाँ निर्माण, विकास र नयाँ ज्ञान र समृद्धिको दिशामा अगाडि बढ्दै छ भने अर्कोतर्फ निहित स्वार्थ र वर्चश्वका लागि आफ्नै अस्तित्व समाप्त गर्ने संहारक सामाग्रीको पनि अनुसन्धान, विकार र उत्पादन पनि गर्दै छ। तेस्रोतर्फ आजको मानवलाई नै परिवर्तन गर्ने गरी नयाँ मानवको निर्माण गर्ने सम्मको दिशामा पनि अनुसन्धान गर्दै छ। तीव्र गतिमा विकास भइरहेको साइभरनेटिक इन्जिनियरिङ र साई वर्ग इंन्जिनिरिंको क्षेत्रमा नयाँ-नयाँ उपलब्धि हासिल गर्दैछ।
यसका साथै कम्प्युटर विज्ञानको क्षेत्रमा पनि मानव मस्तिष्कको काम गर्न सक्ने गरी नयाँ सफ्टवेयर विकास गर्ने दिशामा पनि अनुसन्धान अनुसन्धान गरिँदै छन् र त्यसमा एकपछि अर्को सफलता पनि प्राप्त गरिँदै छन्। जहाँ एकतर्फ यस्ता मानव हितकारी वैज्ञानिक अनुसन्धानहरूले मानवको चेतना र ज्ञानको विकास तथा मानवको समृद्धि र सुखद भविष्यका आधार तय गर्दै छन् भने अर्कोतर्फ आम विनाशकारी हतियारहरूको निर्माणले मानव सभ्यताको भविष्यमाथि नै खतरा पनि जन्माउँदै छन्। यसबाट मानव भविष्यबारे अनेक चिन्ता पनि जन्मिएका छन्। यी सब क्रियाकलापहरूको परिणामबाट वर्तमान मानव जातिको भविष्य के होला ? आजै भन्न सकिने अवस्था छैन। सामाजिक उत्पादन विकासको लामो र कठिन यात्रा पार गर्दै आएको मानव आज त्यस युगमा प्रवेश गरेको छ जहाँ विज्ञान प्रविधिको विकासले एकतर्फ मानिस अन्तरिक्षको उँचाइमा र माइक्रो फिजिक्सको गहिराइमा पुगेको छ भने अर्कोतर्फ विनाशको कगारमा पनि उभिन पुगेको छ।
निचोडमा, यस सम्पूर्ण अवस्थाको अन्त गरी मानवको सुखद र समृद्ध भविष्यको निर्माण गर्न विज्ञानको जनमुखी विकास, समानता स्वतन्त्रता र भाइचारायुक्त न्यायिक र समतामूलक समाजको निर्माणका लागि सार्वजनिक उत्पादन र सामूहिक उपभोगको परिपाटीको स्थापना तथा साम्राज्यवादको वर्तमान अनिष्टकारी रूप समाप्त गरी समतामूलक समाजवादी समाजको निर्माण गर्न आर्थिक, सामाजिक, प्राविधिक, सांस्कृतिक, राजनैतिक तथा सामाजिक मनोविज्ञान आदि सम्पूर्ण पक्षमा परिवर्तन गर्न कम्युनिष्टहरू लगायत सम्पूर्ण श्रमिक वर्ग, प्रगतिशील बौद्धिक वर्ग, तमाम मानवतावादी शक्तिहरू, साम्राज्यवाद विरोधी संयुक्त मोर्चामा लामबद्ध हुनु आज समयले माग गरेको छ। यसका प्रचुर सम्भावना पनि हाम्रो अगाडि विद्यमान छन्। तर, रातारात एउटै झट्कामा यो कार्य सम्पन्न गर्नु त्यति सहज छैन। यसका लागि उपलब्ध सम्भावनाहरूको उपयोग गर्दै क्रमिक विकासको बाटो अगाडि बढ्न आवश्यक छ। तब मात्र मानवको भविष्य सुनिश्चित गर्न सकिने छ।
