जनगणना सम्बन्धी कार्यशाला गोष्ठी
सुर्खेत । सुर्खेतमा आइतबार राष्ट्रिय जनगणना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आगामी २५ गतेदेखि सुरु हुने राष्ट्रिय जनगणनालाई मध्यनजर गर्दै केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा यूएनएपी नेपाल तथा युकेएडको सहयोगमा मिडिया एक्सन नेपालले गोष्ठीको आयोजना गरेको हो ।
आउँदो कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म देशभर एकैसाथ राष्ट्रिय जनगणना हुँदैछ । जनगणना महत्वपूर्ण सदस्तावेज भएका कारण यसविषयमा सञ्चारकर्मीहरुलाई रिपोर्टिङमा सहजहोस् भन्ने उद्दश्येल कार्यक्रमको आयोजना गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्षमणदत्त पन्तले जानकारी दिए । उनले जनगणना सम्बन्धीका हरेक मुद्दालाई सञ्चार माध्यममा ल्याउनुपर्ने र राज्य निगरानी बढाउन सुझाव दिए ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले यसअघिकोभन्दा आउँदो जनगणनामा विविधता रहेको कुनै पनि नागरिक नछुट्न र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन सुझाव दिए ।
संघीयतापछि पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणनामा नागरिकको संख्यासहित आर्थिक, सामाजिक, शैक्षिक जस्ता विविध विषयबस्तुहरुको पनि तथ्याङ्क लिइने छ । जनगणनाकै तथ्याङ्कलाई आधार मानेर सरकारले नीति नियम तथा योजना तर्जुमा गर्ने भएका कारण गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले जनगणना जस्तो संवेदनशील क्षेत्रमा प्रारम्भीक ज्ञान आवश्यक रहेको बताए । गोष्ठीले सञ्चारकर्मीलाई महत्वपूर्ण ज्ञान दिएको बताए । त्यस्तै जनगणना कार्यालयका प्रमुख पोम नारायण पौडेलले जनगणनाको राष्ट्रिय अभियानलाई सफल बनाउन हरेक नागरिकले गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनुपर्ने बताए ।
