वीरेन्द्रनगरमा दश हजार दर्शक क्षमतको रंगशाला बन्ने
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १० हजार दर्शक अटाउने क्षमताको रंगशाला निमार्ण गरिने भएको छ । त्यसका लागि आइतबार निर्माणा कम्पनी र कर्णाली प्रदेश खेलकुद विकास परिषदबीच सम्झौता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दुबै पक्षबीच ३० महिनाभित्रै रंगशाला निर्माणको काम सम्पन्न हुनेगरी कार्यसम्झौता भएको हो ।
खेलकुद परिषदका सदस्य—सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रंगशाला निर्माणको जिम्मा काठमाडौंको कान्तिपथका रहेको एमएसीजी नामक कम्पनीले लिएको छ। यो आयोजनालाई कर्णाली प्रदेश सरकारले यसअघिनै प्रदेश गौरवको आयोजनाको रुपमा घोषणा गरेको छ ।
उनले भने,‘अबको एक हप्ताभित्रै शिलान्यासको काम सकाउने हाम्रो लक्ष्य छ। रंगशालाभि फिफाको मापदण्ड अनुसार फुटबल मैदान बनाइने छ।’ उनका अनुसार रंगशाला निर्माणका लागि १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय लागत लाग्ने अनुमान गरिएको छ।
सञ्ज्यालले भने ,‘१० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधी प्यारोफिट, भिआइपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुम र अण्डर ग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ। साथै टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि बनाइनेछ।’
सम्झौता हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले रंगशाला समय अगावै निर्माण कार्य सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए ।
