लोपोन्मुख गिद्ध देखिन थाले
मध्यपहाड संवाददाता
दैलेख । प्रकृतिकको कुचिकर मानिने गिद्ध पछिल्लो समय दैलेखका विभिन्न ठाउँमा देखापर्न थालेका छन् । डाईक्लोफेनेक मुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखापर्ने थालेका हुन् ।
जिल्लामा २०६६ मा डाईक्लोफेनक मुक्त जिल्ला घोषणा गरिएको थियो । मासुलाई आहार बनाउने तर आफु सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयबासीमा खुशी भएका छन् । मरेको सिनो खाएर बातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी मानिन्छ । कुनै बेला गिद्धलाई छोपेर मानिसले मित लगाउने अनि छोडिदिने मित लगाएको मान्छेको मृत्यु हुँदा गिद्ध समेत काठ लिएर मलामी आउने गरेको स्थानीयबासीको भनाई छ ।
विरामी पशुलाई दुखाई र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाईक्लोफेनेक औषधी प्रयोग गर्न थालेदेखी मरेको जनावरलाई गिद्ध खाने मर्ने गरेको पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भिमबहादुर विष्टले बताए । उनले भने,डाईक्लोफेनेक औषधी प्रयोग गरिएको सिनो खाँदा गिद्धको किड्नीमा असर पर्ने गई मर्ने,बाँचेकोमा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लाले २०६६ मा डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको थियो । आजभोली जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेपछि जिल्लामा डाईक्लोफेनक औषधी छैन भन्ने नै हो भने गिद्ध देखिनु आम नागरिकका लागि खुशीको कुरा हो प्रमुख विष्टले थपे ।
डाईक्लोफेनेक मुक्तपछि जिल्लाका विभिन्न ठाउँका सिमल,सल्लाको रुखमा गुँड लगाउनेको गरेको ठाटीकाँध गाउँपालिका १ का वडाअध्यक्ष नर्तमबहादुर बुढाले बताए । एकदशक सम्म हामीले गिद्ध देखेका थिएनौं । गिद्ध नहुँदा मरेको गाईगोरुले वातावरणलाई दुषित बनाएको थियो । तीन बर्ष यता गाउँपालिकाका जंगलमा गिद्धले गुडँ लगाउने गरेको छ उनले भने । गिद्धको बासस्थानको लागि सिमलको रुख फडानी गर्दा गिद्ध देखापर्न छोडेको स्थानीयबासीले बताउँछन् । गिद्धका लागि सिमलको रुख फडानीले गिद्ध लोप भएको स्थानीयबासीको बुझाई छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिवन्ध गरेको छ ।
मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा,झाडापखाला लगायतका रोगबाट मुक्त बनाई दिने भएकोले संरक्षणका लागि गाउँवस्तीका मानिसले औषधी प्रयोग गरिएको सिनो गाड्ने र बासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नुपर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत भिमबहादुर विष्टले बताए ।
तर नेपालको एकमात्र लोपोन्मुख जाती राउटे समुदायले सिमलको रुखबाट भाँडाकुुडा बनाई जिविकापार्जन गर्दै आएकोले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने संघ संस्थाले राउटेमा जनचेतना जगाउनुपर्ने कार्यालय प्रमुख विष्टको भनाई छ । राउटेको जिवन प्राकृतिसँग हुर्किने भएकोले गिद्धको बारे राउटेमा जनचेतना जगाउनुपर्छ र सिमलको रुख काट्नमा रोक लगाउनुपर्छ । यो कार्यक्रमको लागि राउटे सँग काम गर्ने संघ संस्थाले पहल गर्नुपर्ने उहाँको भनाई छ ।
हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लंङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको ग्रन्थमा उल्लेख गरिएको छ । नेपालमा पाईने ९ प्रजातिका गिद्धहरु मध्ये दैलेखमा ५ प्रजातिका हिमाली गिद्ध, हाडफोर गिद्ध,सेतो गिद्ध,सुन गिद्ध,डंगुर गिद्ध पाईने नेपाल पंक्षी संरक्षणका जीवविज्ञान कृष्ण प्रसाद भुसालले बताए ।, अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डगुंर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अति सङ्ककटापन्न प्रजाति आउने १० बर्षभित्र लोप हुने संभावना ५० प्रतिशत हुन्छ उनले भने ।
नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गर्छन् । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्पूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो उनले टेलिफोनबाट जानकारी दिए । अझै गिद्धलाई संरक्षण गर्न स्थानीय सरकार,राजनिति दल विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले डाईक्लोफेनेक लगायत अन्य विषादीलाई रोकथाम नियन्त्रण र स्थानीयबासीमा जनचेतना जगाउन सके गिद्ध संरक्षणमा फाईदा पुग्छ र तपाई हाम्रा सहयोगी मानिएका र प्रकृतिका कुचिकर मानिएका गिद्ध लोपहुनबाट जोगिन्छन,उनले थपे ।
२०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्रिवितरण लागि प्रयोगमा ल्याएको छ । गिद्धले एकै पटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।
