प्रतिनिधिसभा विघटन मुद्दाको बहस सकियाे
काठमाडौँ : सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा बहस सकिएको छ । एमीकस क्युरीकाे तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि सबै बहस सकिएकाे हाे । यसैगरी फागुन १० गतेसम्म बहस नाेट बुझाउन प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले जानकारी दिएका छन् । ‘१० गतेपछि मुद्दा हेर्दाहेर्दैमा जान्छ । ११/१२ गतेसम्म जति पनि जान सक्छ,’ जबराले भने, ‘हेर्दाहेर्दैमा पनि सकिन सक्छ।’ १० गतेसम्म बहस नाेट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन सिफारिस गरेको थियाे भने साेही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन घाेषणा गरेकी थिइन् ।

