चार जनाको सामुहिक दाहसंस्कार, छोराछोरीको शब गाडियो,आमाको शब जलाईयो
दैलेख । कर्णाली नदीमा हाम फालेर मुत्यु भएको आठविस नगरपालिका –३ निमायलका ४ जनाको बुधबार कर्णाली नदीको तिरमा संयुक्त दाहसंस्कार गरिएको छ ।
जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएपछि सामाजिक परम्परा अनुसार सुकी बडुवाल सहित तीनवटै छोराछोरीको दाहसंस्कार गरिएको हो ।
दाहसंस्कारमा आमा सुकिको शब जलाईएको छ भने २ छोरी १ छोराको शब गाडिएको छ बालबालिकाको शव नजलाउने परम्पराअनुसार गाडिएको स्थानीय छत्र सिजापतिले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अछामको हिरातसतमा रहेका मानसिंहलाई दाहसंस्कारको बेला दाहसंस्कार गर्ने ठाउँमा दैलेखको कर्णाली तिरमा ल्याईएको थियो ।
आठबिस नगरपालिका–३, निमायलकी सुकीले आफ्ना चार छोराछोरीसहित ५ दिन अघि कर्णाली नदीमा हामफालेकी थिइन् ।
सोमबार दुई छोरी कल्पना र सरीता तथा मंगलबार सुकी र छोरा ललितको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४, बेलखेतस्थित कर्णाली नदीको तिरमा भेटिएको थियो । कान्छी छोरी रजनी भने बेपत्ता छिन् खोजी कार्याजारी छ ।
मदिराले निम्त्याएको मृत्यु
चार छोराछोरी सहित कर्णाली नदीमा अस्ताएका मृतकका आफन्त लगायत यतिबेला आठविस नगरपालिका शोकमा डुबेको छ । मदिराले गर्दा छोराछोरी सहित सुकीले मृत्युको बाटो रोजेको कमल सिजापतिले बताए । उनले भने, मदिराकै कारण दिनहुँ हुने झगडाले गर्दा नै सुकीले मृत्युको बाटो रोजेकी हुन् । आफु मरीसकेपछि छोराछोरीले दुख पाउने चिन्ताले आमाले आफु सहित छोराछोरीलाई समेत हाँत बाँधेर हाम फालेकी हुन सक्छ ,उनले भने ।
बुधवार सुकीको दाहसंस्कारस्थलमा ल्याइएका मानसिंहले घटना हुनुमा आफ्नो कुनै दोष नभएको बताए । श्रीमती सँग सामान्य झगडा हुने गरे पनि सन्तानसँग आफुले आत्महत्या हुने गरि झगडा नहुने गरेको बताए । तर प्रहरीले घरेलु हिंसाको कारण सुकीले छोराछोरीसहित आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी वसन्त पन्तले घटनाबारे जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेको जानकारी दिँदै पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट थप कुरा थाहा हुने बताए । बेपत्ता रजनीको खोजीकार्य जारी रहे साँझसम्म शब भेटिएको छैन ।
