कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने बताएका छन् ।
अध्यक्ष दाहालले शुक्रबार राति प्राइम टेलिभिजनसँगको अन्तर्वार्तामा कांग्रेस, जसपा र आफूहरू सम्मिलित तीन दल मिलेर नयाँ सरकार बनाउँदा भारतका लागि सबैभन्दा राम्रो हुने बताएका हुन् । ‘नेपाली कांग्रेस, हामी र जनता समाजवादी मिल्नु भनेको भारतका लागि सबैभन्दा राम्रो र कम्फर्टेबल अवस्था हो,’अन्तर्वार्ताका क्रममा दाहालले भने, ‘हामी मिल्नु भनेको भारतका लागि कम्फर्टेबल हो भने चीनका लागि पनि उत्तिकै कम्फर्टेबल हुन आउँछ ।’
अध्यक्ष दाहालले भारतसँग नेपालको बहुआयमिक सम्बन्ध रहेकाले भारतसँगको सम्बन्ध नसुधारी नेपालमा राजनीतिक स्थायित्व नै नहुने जिकिर गरे । त्यसैले यही स्थायित्वका लागि पनि कांग्रेस जसपा र आफूहरू मिल्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए । ‘सबै कारणले भारतसँग राम्रो सम्बन्ध र समझदारी नबनाई नेपालमा स्थायित्व र विकास हुँदैन,’ उनले थपे, ‘यति राम्रो सम्भावना अहिले छ, यो राम्रो सम्भावनालाई अघि बढाएर लैजानुपर्छ भनेर मैले भनेको छु,’ नेकपाका अध्यक्ष दाहालले भने ।
अन्तर्वार्ताका क्रममा दाहालले कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको एकता हुनै नसक्ने दाबी गरे । अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर अविश्वासको प्रस्ताव ल्याई ओलीलाई बिदा गरेरै छोड्ने दाबी गरे ।
उनले आफूहरूले अब कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पनि स्पष्ट पारे । दाहालले केपी शर्मा ओलीलाई पत्तासाफ गरेर देउवालाई प्रधानमन्त्री बनाएरै छोड्ने जिकिर गरे ।
‘मलाई प्रधानमन्त्रीको लोभ छैन, म दाबी पनि गर्दिनँ । दुई चार दिनभित्रै हामी यो समस्याको अन्तिम चरणमा पुग्छौं’, उनले भने, ‘मैले शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री बनाउँछु । ओलीको पत्तासाफ गर्छु, म प्रधानमन्त्री बन्दिनँ, देउवालाई बनाएर मुलुकलाई अगाडि बढाउँछु ।’
दाहालले कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई संसद्बाट अविश्वासको प्रस्तावमार्फत सरकारबाट हटाउने बताए । उनले आफूले सत्ताका लागि सम्झौता नगरेको जिकिर गर्दै कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर अगाडि बढ्ने आफ्नो योजना रहेको स्पष्ट पारे ।
ओलीले संविधानमाथि ठूलो घात गरेको भन्दै दाहालले अब एकताको कुनै सम्भावना नरहेको जिकिर गरे । ‘मैले एकताको त्यस्तो सम्भावना अब देख्दिनँ । हाम्रो दूरी आन्तरिक थियो तर ५ पुसमा पार्टीको विवादलाई देखाएर ओलीले संविधानमाथि घात गर्नेगरी संसद् विघटन गर्नुभयो,’ उनले भने, ‘त्यसपछि हाम्रो अन्तरविरोध पार्टीभित्र मात्रै सीमित रहेन, ओलीजीले पश्चाताप नगरेसम्म एकता हुन्न तर उहाँले पश्चाताप गर्नुहुन्न,’ दाहालले भने । साभार : राजधानीबाट
